सरकारमा पनि प्रतिपक्षी भूमिकामा हुन्छु : गृहमन्त्री लामिछाने
काठमाडौं । नवगठित गृहमन्त्री रवि लामिछानेले मन्त्रिपरिषदमा पनि प्रतिपक्षी भूमिकामा काम गर्ने बताएका छन । सिंहदरबारस्थित मन्त्रालयमा शपथ लिएपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सरकारका सबै काममा ‘हो मा हो मिलाउन’ सरकारमा नगएको बताए ।
‘क्याबिनेटभित्र पनि प्रतिपक्षको आवश्यकता पर्छ । त्यहाँ भएका साथीहरुबाट पनि कहीँ कतै आम जनताको पीर मर्का नबुझ्ने अथवा कुनै गलत चिज हुन्छ कि भनन्नका लागि त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि प्रतिपक्षको हुन्छ’ उनले भने ।
यो कुरामा सबै शीर्ष नेतालाई प्रतिवद्ध बनाएर मात्र आफू सरकारमा सहभागी भएको उनले दावी गरे । ‘सबै दलका शीर्ष नेतासँग कन्फर्म गरेर मात्र आएको हो, सरकारको काममा हो मा हो, हामीले गरेको कुरामा हो मा हो गर्ने होइन, क्याबिनेट मिनिस्टरले जे निर्णय गरे त्यसमा हो मा हो भन्न हामी सहभागी भएका होइनौं’ लामिछानेले भने ।
सरकारमा बसेर प्रधानमन्त्रीसँग असहमति राख्ने परम्परा नभएपनि लामिछानेले प्रधानमन्त्रीका सबै काममा समर्थन नगर्ने भूमिकामा आफूलाई उभ्याएका बताएका छन ।
न्यायका लागि धेरै काम गर्न सकियोस भनेर गृहमन्त्रालय रोजेको पनि उनले प्रष्टिकरण दिएका छन । आफूले संचारकर्मी भएर काम गर्दा धेरै काम गृहप्रशासनसँग जोडिएको र न्याय नपाएको देखेकोले त्यो अनुभवका आधारमा गृहमन्त्रालयमा काम गर्न चाहेको उनले बताए । ‘सञ्चारकर्मीका रूपमा काम गर्दा सबैभन्दा बढी गृहमन्त्रालयका बारेमा गुनासो आएको थियो । गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ हो ।’ उनले भने ।
निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानलाई प्राथमिकतामा राखेको बताएका मन्त्री लामिछानेले आफूमातहत रहने निकाय र अधिकारीलाई हरेक कामकारबाहीमा स्वतन्त्र रूपले सहयोग गर्ने बताए । उनले भने, ‘स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्नेछु । हरेक कामकारबाहीमा स्वतन्त्र ढंगले सहयोग गर्ने मात्र हुन्छ कुनै हस्तक्षेप हुँदैन ।’










