दिपक र फुलमतीले जिते राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि

निरन्तर न्यूज
७ माघ २०७९, शनिबार १०:३६

काठमाडौं ।  दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि दिपक अधिकारी र फुलमती रानाले जितेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा शनिबार दीपकले पुरुषतर्फ र फुलमतीले महिलातर्फको उपाधि जितेका हुन् ।

दुबै खेलाडीले एक एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल एपिएफ क्लबकी फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी थिइन् ।

राममायाले उक्त दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।

पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजन रोकायाले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।

चौथो बनेका तिर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दुरी पूरा गरे । तीर्थ गत वर्षको च्याम्पियन खेलाडी थिए । आर्मीका शुशिल कुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे ।

प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योग सहयोगीको रुपमा रहेको बताइएको छ । प्रतियोगितामा प्रिमेरा हस्पिटल पार्टनर, इसेवा टिकेटिङ पार्टनर, आइएसएस साउन्ड सिस्टम पार्टनर तथा यूस र एसओवाई प्रबद्र्धकका रुपमा रहेका छन् । मेरियोट काठमाडौ र फेयरफिल्ड मेरियट हस्पिटालिटी पार्टनरका रुपमा रहेको बताइएको छ ।

गत वर्ष पहिलो संस्करण रन फर प्रोटिन हाफ म्याराथन भएको थियो । गत वर्षको हाफ म्याराथन महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*