यातायात मन्त्री एकालालको अडान : कार्यालय भित्र बिचौलियाको नो इन्ट्री
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले यातायात कार्यालयभित्र बिचौलिया प्रवेशको कामलाई रोक लगाउने निर्णय गर्नु भएको छ । बिचौलियाको प्रवेशका कारण आम सेवाग्राहीहरुले समस्या भोग्दै आएको पुरानो समस्यालाई अब समाधान हुने भएको छ ।
प्रदेशमा मन्त्री बने लगतै पहिलो पटक १० वटा निर्णय गर्दा मन्त्री श्रेष्ठले बिचौलियाको प्रवेशमा रोक लगाउने निर्णय गर्नु भएको हो । हरेक यातायात कार्यालयमा लाइसेन्स दिने स्थानमा बिचौलिया मार्फत नागरिकले सेवा लिनुपर्ने बाध्यता छ ।
आम सेवाग्राहीले यातायात सम्वन्धी तिर्नुपर्ने सवारीकर, पटके कर घरबाटनै तिर्न सक्ने व्यवस्था मिलाउने निर्णय पनि मन्त्री श्रेष्ठले गर्नु भएको छ । त्यसैगरी यातायात कार्यालयमा चालक अनुमती पत्रको लागि हुने गरेको भिड नियन्त्रण गर्ने निर्णय पनि उहाँले गर्नु भएको छ ।
त्यसैगरी यातायात व्यावस्था कार्यालयबाट प्रयोगात्मक परिक्षा दिएको तीन दिन भित्र अन्तिम परिक्षा प्रकासित गर्ने निर्णय पनि उहाँले गर्नु भएको छ । त्यसैगरी प्रदेश सरकारले १० हजार जना युवालाई दिने तालिम तत्काल कार्यान्वयन गरिने निर्णय गर्नु भएको छ ।
त्यसैगरी प्रदेश श्रमनीतिलाई लागू गरेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय गर्नु भएको छ । अहिलेको अनलाइन प्रणालीलाई स्तरउन्नती गर्ने समेत उहाँले निर्णय गर्नु भएको छ । जनपत्रबाट ।










