संविधान बिरोधी गतिविधि बढे राज्य मुकदर्शक भएर बस्दैनः मन्त्री श्रेष्ठ
सिन्धुपाल्चोक । बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्र र संविधान बिरोधी शक्तिहरूको अराजक हर्कत बढ्दै गए राज्य मुकदर्शक भएर नबस्ने चेतावनी दिएका छन् ।
बुधबार सिन्धुपाल्चोकको सुकुटेमा भएको सुरक्षा समितिको पदाधिकारी बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । बैठकमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान बिरोधिहरु सदन र सडकमा सक्रिय भइरहेको भन्दै त्यस्ता संविधान बिरोधीहरुको भ्रममा नपर्न पनि आग्रह गरे । मन्त्री श्रेष्ठले पञ्चायतकालीन ऐन, कानून र नियम अनुसार काम गर्नुपर्दा समस्या भैरहेको तर्फ सरकार गम्भिर रहेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार ऐन, कानून बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सवारी दुर्घटना, आत्महत्या, प्राकृतिक विपद्को व्यवस्थापन, वित्तीय अपराध, साइबर अपराध, नदीजन्य पदार्थको चोरी तस्करी, लागू औषध नियन्त्रण, महिला हिंसा जस्ता समस्याहरू प्रदेशका सुरक्षा चुनौतीको रूपमा रहेकाले यसतर्फ सजग रहन उनले सुरक्षा समितिका पदाधिकारीहरुलाई निर्देशन पनि दिए ।
मन्त्री श्रेष्ठले संघीय सरकारले संविधानमा व्यवस्था भए अनुसार प्रदेशलाई दिनुपर्ने अधिकार दिन कन्जुस्याइँ गरेकाले प्रदेश सरकारले परिणाममुखी काम गर्न नसकेको स्पष्ट पारे । उनले प्रहरी समायोजन तुरुन्तै हुनुपर्नेमा जोड दिए ।
बैठकमा सिन्धुपाल्चोक, दोलखा र रामेछापका प्रमुख जिल्ला अधिकारीहरू रमेश न्यौपाने, कोमल प्रसाद धमला र अनिता निरौलाले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए । मन्त्रालयका सचिव ध्रुव गैंडाको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका शान्ति सुरक्षा तथा कारागार महाशाखाका प्रमुख सुरेन्द्र कार्कीले प्रदेशको शान्ति सुरक्षाको अवस्थाबारे सहजिकरण गरेका थिए ।










