चौबीसै घण्टा सूचना लिनसक्ने वातावरण बनाउँछु: मन्त्री श्रेष्ठ
हेटाैँडा । बागमती प्रदेशभित्र रहेका कार्यालयहरुमा सूचना अधिकारीलाई संस्थागत मोबाइल नम्बर उपलब्ध गराइ सेवाग्राहीले लागि २४ सै घण्टा सूचना लिनसक्ने वातावरण बनाउन पहल गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बताए ।
सोमबार हेटौंडामा मन्त्रालयको सभा हलमा आयोजित ‘सूचनाको हक सम्बन्धी ऐन प्रबर्द्धन बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै मन्त्री श्रेष्ठले सूचना माग्नेभन्दा पनि सूचना दिने परिस्थिति निर्माण गर्न प्रदेश सरकार अग्रसर रहेको बताए ।
उनका अनुसार बागमती प्रदेशभित्रको कार्यालयका सूचना अधिकारीहरुबाट सूचना माग्न आउनेभन्दा पनि माग नगरी सूचना दिने परिस्थिति निर्माण गर्न सरकारले काम गरिरहेको छ ।
नेपालको संविधान २०७२ धारा २७ मा सूचनाको हक, ऐन २०६५ र नियमावली २०६५ जारी भएसँगै प्रदेश सरकारले प्रदेश सूचना सम्बन्धी ऐन, २०७६ जारी गरेको र नियमावली निर्माणको तयारीमा रहेको मन्त्री श्रेष्ठले बताए ।
कार्यक्रमका सहभागीहरुले प्रदेश सरकारले सुशासन र सार्वजनिक सुनुवाइका विषयमा सूचनाको हकलाई जोडेर अघि बढ्नुपर्ने बताए । सार्वजनिक र व्यक्तिगत सूचना फरक प्रकृति र प्रयोजनका लागि हुने भएकाले सोको समवेदनशीलताका आधारमा फरक कार्यविधि बनाएर अघि बढ्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।
सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा लागि प्रदेश सरकारले निर्माण गरेका कानुनका विषयमा आम नागरिकहरुलाई सरल र सहज रुपमा बुझाउन सक्नुपर्ने तथा घुम्ती शिविर मार्फत् सूचना दिने कार्यक्रमहरु अघि बढाउनुपर्ने उनीहरुको धारणा थियो ।
प्रदेश सरकारले निर्माण गरेका कानुन आम नागरिकले बुझ्न नसक्ने भएकाले त्यसलाई सरल र सहज बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसारतर्फ अग्रसर हुनुपर्ने, हरेक कार्यालयका सूचना अधिकारी र प्रमुखहरु जिम्मेवार बन्नुपर्ने उनीहरुले बताए ।
अन्तरक्रियामा प्रदेश सूचना पुनरावेदन समितिको काम कर्तव्य र अधिकारबारे समितिका सदस्य कृष्ण सारु मगर र प्रदेश सूचनाको हक सम्बन्धी ऐनका कानुनी प्रावधानका बारेमा जिल्ला अदालत बार एसोशिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतले प्रस्तुति दिएका थिए ।
मन्त्रालयका सचिव ध्रुव गैडाको अध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा, मुख्य न्यायधीवक्ताको कार्यालय बागमती प्रदेश, जिल्ला बार एसोसिएसन, उच्च अदालत बार एसोसिएसनका प्रतिनिधि, नेपाल पत्रकार महासंघका बागमती प्रदेश उपाध्यक्ष कृष्ण सारु मगर, मकवानपुर शाखा अध्यक्ष मणिराज गौतमसहित सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।










