विपक्षी दलहरुको अवरोधले प्रतिनिधिसभा बैठक बस्न सकेन
काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक बस्नै नबसी स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँसेर बैठक सोमबार विहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । बैठक चलाउन कोशिस भएपनि सहमति हुन नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।
यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।
बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा भएको छलफलमा पनि दलहरुबीच सहमति जुट्न नसकेपछि आइतबार पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल हुन सकेन ।










