प्रचण्ड र विप्लवबीच भेटवार्ता
काठमाडौं । समाजवादी मोर्चामा आबद्ध सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच आज (बिहीबार) भेटवार्ता भएको छ।
भेटमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने र माओवादी आन्दोलनको उपलब्धिको रक्षा गर्नेबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् । दुई नेताबीच बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकताबारे पनि छलफल भएको बताइएको छ। यही असार ४ गते उक्त दुई पार्टीसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गरेर चार पार्टीले समाजवादी मोर्चा बनाएका छन्।
समाजवादी मोर्चा बनाएपछि प्रचण्ड र विप्लव दुवै उत्साहित छन् । संसद बाहिर रहेका विप्लवले संसद र सरकारमा रहेका दलहरुसित आफूले गरेको सहकार्यलाई राजनीतिको नयाँ मोड भनेका छन् भने प्रचण्डले विप्लवको साथले धुलो मैलो फाल्न सहज हुने बताईरहेका छन् ।
तर समाजवादी मोर्चाको अवधारणा बनाएर शुरुदेखि छलफल गर्ने डा.बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीलाई बाहिर राखिएको छ । आफूलाई जानकारी नै नदिई मोर्चा घोषणा गरिएको भन्दै डा. भट्टराई असन्तुष्ट छन्।










