नेसपाको संगठन विस्तार अभियान आजदेखि
काठमाडौं। नेपाल समाजवादी पार्टीले आजबाट संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरेको छ । ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पौषसम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम छ ।
अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डा. बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।
पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नपा-१, खोप्लाङको ज्योति चौतारामा विभिन्न प्रजातिका वृक्षारोपण गरेर अभियानको सुरुवात गर्नेछन् ।
त्यस्तै, कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिएका छन् भने मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सन्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए ।
यस्तै, बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एक हजार फलफूलसहित बिभिन्न प्रजातीका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष वन्दना सुवेदीले जानकारी दिइन् ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टिकापुर, भजनी र कैलालीमा व्यापकरूपमा वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले बताए । प्रदेशका कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत वृक्षारोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिए ।
प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजार भन्दा बढि वृक्षारोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ । सातवटै प्रदेशका जिल्लाहरू तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत अभियान सञ्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ ।










