हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न सुझाव
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्र्नुपर्ने माग उठेको छ ।
मकवानपुर स्थित कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा अस्पताललाई मदन भण्डारी विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग अघि सारेको हो ।
सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले गरेको दुई महिनाको अध्ययनका आधारमा आफुहरु यस्तो निर्णयमा पुगेको समितिका संयोजक समेत रहेका कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताए । उनले हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्दै लैजानुपर्ने ठाउँमा प्रतिष्ठानको मातहतमा लगेर अस्पतालको अस्तित्व नै संकटमा पार्न खोजिएको दावी गरे ।
‘विगतमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै हेटौँडा अस्पताललाई तीन सय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्नुपर्ने ठाउँमा प्रतिष्ठान मातहतमा लगेर यसको अस्तित्व नै संकटमा पार्न खोजिएको देखियो । त्यसकारण प्रदेशसभाबाट पास गरिएको प्रतिष्ठानको ऐनमा हेटौँडा अस्पतालसँग जोडिएका विषयहरु सबै खारेज गर्न हामी प्रदेश सरकारसँग माग गर्दछौं ।’ उनले भने ।
सचिव महतले मदन भण्डारी विज्ञान प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म हेटौँडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न भने सकिने बताए । उनले यसका लागी प्रदेश सरकारलाई प्रतिष्ठानका लागी आवस्यक पर्ने जग्गा उपलब्ध गराउँनेदेखि पूर्वाधान निर्माणमा समेत सहयोग गर्न सुझाव दिए ।
‘प्रतिष्ठानलाई आवश्यक पर्ने जग्गा, पूर्वाधारको विकासमा प्रदेश सरकारको सहायोगका लागी हामी पनि आग्रह गर्छौ । यथासिघ्र प्रदेश सरकारले ती कुराहरुलाई पुरा गर्नुपर्छ । प्रतिष्ठानले पूर्णता पाउँदा हेटौँडाबासीलाई नै फाइदा पुग्ने भएकाले यस बिषयमा पनि हामी गम्भिर छौं ।’ सचिव महतले भने ।
समितिका सदस्य एवं एकिकृत समाजवादीका जिल्ला सचिव ध्रुव भुजेलले समिति मार्फत प्रतिष्ठान र अस्पतालका बिषयमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र स्वास्थ्यमन्त्री उत्तम जोशीलाई जानकारी गराइसकिएको बताए । उनले प्रतिष्ठानलाई आफ्नो उद्देश्य अनुरुपको काम अगाडि बढाउन आग्रह गर्दै हेटौँडा अस्पताललाई भने स्वतन्त्र छोड्नुपर्ने सुझाव दिए ।
कांग्रेसका सचिव महत संयोजक रहेको जिल्लास्तरीय समितिमा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, एकीकृत समाजवादीका सचिव ध्रुव भुजेल र विज्ञ सदस्यको रुपमा हेटौंडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल रहेका छन् ।










