तत्काल बागमती प्रदेश सभा बैठक राख्न एमालेको माग
हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जगन्नाथ थपलिायले बागमती प्रदेश सभाकाे बैठक तत्काल बाेलाउन माग गर्नुभएकाे छ ।
आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै थपलियाले प्रदेश सरकार नागरिक र संसदबाट बेखवर भएको बताउनुभयो । गत असार २१ गते अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेश सभाको अर्को बैठक झण्डै डेढमहिना हुँदा पनि बस्न नसकेकोमा उहाँले आपत्ति जनाउनुभयो ।
अहिले नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेको बताउँदै उहाँले भन्नुभयो–‘बाढीपहिरोले जताततै क्षति पुर्याइरहेको छ, चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका छन् । तर, सरकार कहाँ छ ? कसैलाई पत्तो छैन । अधिकांश मन्त्रीहरु राजधानी हेटौंडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन ।’
प्रदेश सरकारले गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रदेश सभालाई विजनेस दिन नसकिरहेको बताउँदै उहाँले भन्नुभयो–‘संघीयताका बारेमा सङ्का उत्पन्न भएको तथा चौतर्फी प्रहार भइरहेको वर्तमान अवस्थामा संघीयता काम लाग्दैन भन्ने प्रमाणित गर्नेखालका यस्ता गतिविधिको नेकपा (एमाले) घोर निन्दा गर्दछ । प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक नै बस्न सकिरहेको छैन । मिनी संसद भनिने संसदीय समितिलाई सक्रीय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेमा यो हदको सरकारी लापरबाही आमप्रदेशबासी नागरिकहरु प्रतिको अपमान हो भन्ने हाम्रो ठहर छ ।’
प्रदेश सभाको बैठक तत्काल बोलाई आमनागरिकका समस्याहरुका बारेमा उनीहरुका प्रतिनिधिहरुलाई सदनमा छलफल गर्ने व्यवस्था मिलाउन एमालेका सांसदहरुले जोडदार माग गरेका छन् । पत्रकार सम्मेलनमा बागमती प्रदेशका एमाले सचेतक मधुसुधन पौडेल, सांसदहरु एकालाल श्रेष्ठ, कृष्ण सिल्वाल, हरि प्रसाद सापकोटालगायतकाको सहभागिता रहेको थियो ।










