राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।
संविधान विपरित अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो । राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ । एमालेका सचेतक महेश बर्तौलाले राष्ट्रपतिले एजेन्डा राखेर सर्वदलीय बैठक बोलाउन नमिल्ने भएकोले एमाले बैठकमा सहभागी नभएको बताए । बर्तौलाले भने‚ ‘सरकारको काम राष्ट्रपतिले गर्ने होइन । ‘ सहमतिको प्रक्रियाबाट छलफल अघि बढिरहे पनि त्यसलाई समानान्तर रुपमा अघि बढाएर ओभरल्यापिङ गर्न नहुने उनले बताए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै बैठक बोलाएका थिए । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।










