प्रदेश अधिवेशनका लागि एमाले अध्यक्ष ओली धनगढीमा, भीम रावललाई बाेलाइएन
धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन्।
अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली आइतवार बिहान धनगढी आइपुगेका हुन्।
अधिवेशनमा प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आएका छन्।
तर नेता भीम रावललाई भने अधिवेशनमा आमन्त्रण गरिएको छैन्।
३० साउनमा पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच वार्ता भएको थियो। त्यसपछि रावल गृह जिल्ला अछाममै सक्रिय छन्। प्रदेश अधिवेशनमा भने उनलाई आमन्त्रण नगरिएको रावलनिकट नेताले बताए।
‘यहाँ कार्यक्षेत्र नभएका नेतासमेत धनगढी आएका छन्। कतिपय आउने तयारीमा छन्। तर, अछाम भएका भीम रावललाई अधिवेशनमा बोलाइएको छैन,’ ती नेताले भने।
पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुले नै पदाधिकारी तथा सदस्य चयन गर्छन्।
‘यसमा कुनै नेताको हस्तक्षेप हुँदैन्। भीम रावल केन्द्रिय नेता हुन्। केन्द्रिय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ। प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन्।’
रावल चितवनमा भएको दशौं अधिवेशनमा केन्द्रीय अध्यक्षमा पराजित भएका थिए। त्यसयता पार्टीभित्र उनी कुनै पदमा छैनन्।
प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र नेता कर्ण थापालाई आमन्त्रण गरिए पनि रावललाई कुनै जानकारी नगराएको इन्चार्ज विश्वकर्माले बताए।
अहिले सम्म प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले दाबी गरेका छन्।
धनगढी स्थित सौराइ ब्यांक्वाइटमा एमाले अध्यक्ष ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।
प्रदेश अधिवेशन उद्घाटन गर्नु अघि ओली कञ्चनपुरको पुनर्वासस्थित सहित गोविन्द गौतमको स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गरेका छन्।










