फागुन १ गते उत्सवको दिन हुनै सक्दैन : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले फागुन १ गते जनयुद्ध दिवस नमनाउन सरकारलाई चुनौती दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णुप्रसाद पौडेलले यस्तो चुनौती दिएका हुन् ।
“यदि सरकारलाई फागुन १ गते जनयुद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ भने यही सदनमा प्रस्ताव लिएर आओस् र जनताको प्रतिनिधिले दिएको निर्णयअनुसार अघि बढोस्,” उनले भने ।
फागुन १ गते उत्सवको दिन कुनै पनि हालतमा हुन नसक्ने उनले बताए । त्यो दिन हिंसा सुरू भएको बताउँदै उनले भने—फागुन १ गते कुनै पनि हालतमा उत्सवको दिन हुनै सक्दैन, मिल्दै-मिल्दैन । त्यो दिन कुनै पनि दृष्टिकोणले जनयुद्ध दिवस मान्दैन । हिजोको युद्धको दृष्टिकोणले होस्, विस्तृत शान्ति सम्झौताको दृष्टिकोणले होस्, सदनमा प्रतिविम्बित जनमतले वा अरु कुनै पनि दृष्टिकोणले; फागुन १ लाई उत्सव मान्न सकिँदैन ।
उनले फागुन १ गतेलाई जनयुद्ध दिवस भनेर उत्सवका रूपमा मान्नु जनताको चाहनाविपरीत पनि भएको बताए ।