एमाले उपाध्यक्षलाई माओवादी नेता पुनकाे जवाफ, ‘आफूले गरेको सबै ठीक’ !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुन ‘अनन्त’ ले दल तथा नेताहरूमा संस्थागत संस्कार नबनेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
“हामीले संस्थागत संस्कार नै बनाएनौँ । विधि तथा सिद्धान्त मान्ने संस्कार हामीले बनाएनौँ,” उनले भने । उनले ‘आफूले गरेको सबै ठीक तर, अरुले गरेको सबै बेठिक भन्ने भाष्य’ निर्माण गर्न खोजिएको उनले बताए ।
पुनभन्दा अघि बोलेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका सांसद विष्णुप्रसाद पौडेल माओवादी नेतृत्वको सरकारले घोषणा गरेको जनयुद्ध दिवसको विरोध गरेका थिए । सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने घोषणा गर्दा एमाले पनि सरकारमै थियो ।
यसतर्फ लक्षित गर्दै पुनले यस्तो बताएका हुन् । “आफूले गरेको काम राम्रो तर, अरुले गरेको नराम्रो भन्ने भाष्य हामीले बनाउन खोजिरहेका छौँ,” उनले भने ।
यस्तै उनले कतिपय दललाई बहुलवाद स्वीकार्न गाह्रो परिरहेको बताए । बहुलवादलाई स्वीकारेर जाँदा मात्रै मुलुकको विकास हुने उनले बताएका छन् ।