आर्थिक सहयोग जुटाउन सांगीतिक कार्यक्रम गर्दै जिबिएनसि

सुपेन्द्र बस्नेत
२० कार्तिक २०८०, सोमबार ०७:५६

अमेरिकाको न्यु इंग्ल्याण्ड क्षेत्रमा रहेका आप्रवासी नेपाली समुदायकाबिच क्रियाशिल संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी(जिबिएनसि)’ले संस्थाका लागि आर्थिक सहयोग जुटाउन सांगीतिक कार्यक्रम गर्ने भएको छ। नेपालीहरुको महान चाड ‘तिहार’को साइत पारेर गर्न लागिएको कार्यक्रमको मुख्य उद्देश्य, संस्थाका विविध गतिविधिहरु सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्ने रहेको आयोजकले जनाएको छ। कार्यक्रम यही आउदो नोभेम्बर १० तारिख सुक्रवार साँझ 594 Washington St, Braintree, MA-02184 स्थित नेपाली समुदायको सामुदायिक भवन(पशुपतिनाथ बुद्ध मन्दिर)मा हुने गरी तयारी भइरहेको छ। आयोजकका अनुसार, साँझ ६ बजेदेखि राती १० बजेसम्म सञ्चान हुने यस कार्यक्रमको मुख्य आकर्षक, नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक ‘प्रकाश सपुत’ रहने भएका छन्।

नेपाली नयाँ वर्षको अवसर पारेर जिबिएनसिले गत बैशाख १ गते तदनुसार अप्रिल १४ तारिख आयोजना गरेको बैशाखी साँझ-२०८०’ मा सपुत विशेष अतिथिका रुपमा सहभागिता जनाउदै न्यू इंग्ल्याण्डवासीहरुसंग सांगीतिक साक्षात्कार गरिसकेका छन्। झण्डै ७ महिना पछि दोश्रो पटक सांगीतिक साक्षात्कार गर्न उनी बोस्टन आउन लागेका हुन्। पछिल्लो समय मार्मिक सन्देशसहित भरपूर मनोरञ्जन दिलाउने सपूतका गीतहरु – मायाको मुखैमा चिनी, किन सर्छेउ पर आउन वर वर, हे जोतिसेले तिम्रै हुने भने (तीज गित), गलबन्दी च्यातियो तिम्ले तानेर, बोल माया, बदला बरिलै, मेरो पनि हैन र यो देश, ‘कुरा बुज्न पर्छ ,पीर, सकम्बरीलगायत निकै चर्चामा रहेका छन्। बहुमुखी प्रतिभाका धनी सपुतले न्यु इंग्ल्याण्डवासी नेपाली समुदायसंगको पहिलो भेटमै आत्मीय, कदरयोग्य र मनोरञ्जनात्मक छाप छोड्न सफल भएका थिए। जसका कारण छोटो समयको अन्तरालमै उनलाई नै पुन: बोस्टन ल्याउने माहोल बनेको आयोजकले जनाएको छ।

कार्यक्रम आयोजक संस्था जिबिएनसि(GBNC)का महासचिव सोनाम शेर्पाले दिएको जानकारी अनुसार, कार्यक्रमको तयारी लगभग पूरा भएको छ। कार्यक्रममा आफ्नो सांगीतिक कोसेलीहरु पस्किएर सहभागीहरुलाई भरपूर मनोरञ्जन दिलाउन आवश्यक तयारीका साथ यसपटक सपूत श्रीमतिसहित बोस्टन आउदै छन्। कार्यक्रमका बारेमा जानकारी दिदै महासचिव शेर्पाले भने, ”यो कार्यक्रम संस्थाका गतिविधिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्यले गर्न लागिएको हो। तयारी लगभग पूरा भैसकेको छ। आसा छ कि यो आर्थिक सहयोग संकलन गर्ने संस्थाको अभियानमा सबैले विगतमा झै सहयोग गर्नु हुने नै छ।”

कार्यक्रममा सहभागिता जनाइ आर्थिक सहयोग गर्न चाहनेहरुका लागि पासको व्यवस्था गरिएको छ। आयोजकले इच्छुक सहयोगी हातहरुलाई संस्थासंग सम्पर्क गरी आफ्नो पास सुरक्षित गर्न अनुरोध गरेको छ। कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै १२० जनाका लागि पासको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*