गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त

निरन्तर न्यूज
२२ फाल्गुन २०८०, मंगलवार १५:४८

काठमाडौं । सुदूरपश्चिम सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त भएका छन् ।

मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

मुख्यमन्त्री शाहले सरकारमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरुलाई भने बर्खास्त गरेका छैनन् ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

मुख्यमन्त्री शाहले सरकार जोगाउन आफूहरू लागेको पनि बताए ।
सबै पार्टीलाई मिलाएर लैजान म तयार छु,’ उनले भने, ‘केन्द्रीय निर्णयअनुसार सरकार चलाउन कुन दलसँग साझेदारी गर्ने भन्ने विषयमा कुरा अघि बढ्छ।’

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि माओवादीका दुई मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। मुख्यमन्त्री  पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*