बागमती प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पुरा
हेटाैँडा । हेटौंडामा बागमती प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पुरा भएको छ। प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले पत्रकार सम्मेलन गरी यही वैशाख २८, २९ र ३० गते १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलन हुने जानकारी दिनुभयो।
सम्मेलनमा २ सयभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका युवा सहभागी हुनेछन्। प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत सम्मेलन आयोजना गरिएको हो।
गत वर्षदेखि युवा सम्मेलन आयोजना गर्न सुरु गरिएको र यसपालि पनि प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागिता रहनेछ। सम्मेलनमा सहभागी युवालाई लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सञ्जाल निर्माण, प्रेरणादायी व्याख्यान र नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धी क्रियाकलाप हुनेछन्।
सम्मेलनमा सहभागी हुन ५३७ जनाले अनलाइनमार्फत आवेदन दिएका थिए। आवेदनकर्ताहरूमध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको थियो। छानिएका २०० जना सहभागी बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये ८९ स्थानीय तहका युवाहरू रहेका छन्।