बागमती प्रदेश सरकारमा श्रेष्ठबाहेक एमालेतर्फ सबै नयाँ अनुहार

हेटौंडा । नेकपा एमालेले वाग्मती प्रदेशको मन्त्रिपरिषद्मा सहभागी हुनेको नाम टुंग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयमा भक्तपुरका किरण थापा, काठमाडौंका प्रकाश श्रेष्ठ, ललितपुरका प्रेमभक्त महर्जन, सिन्धुलीकी सुकमाया तामाङ, चितवनका कृष्णप्रसाद सिलवाल तथा काठमाडौंका अमनकुमार मास्के मन्त्री बन्ने भएका हन् ।
उनीहरूको जिम्मेवारी भने अझै टुंगिसकेको छैन । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय प्राप्त गर्ने बुझिएको छ ।
सत्तासाझेदार एमाले र कांग्रेसबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयमा अझै सहमति भएको छैन । एमालेको समर्थनमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आजै मुख्ममन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।