रमेश खरेलकाे उजुरी चर्चामा आउन हाे : कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले दूषित मनसायका साथ आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले सार्वजनिक खपत र आफू चर्चामा आउनका लागि मात्र खरेलले उजुरी दिएको आरोप लगाएका छन् ।
‘निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निज खरेलबाट निहित स्वार्थका साथ यस्ता कामहरू भइरहेका थिए र छन्।’
प्राधिकरणले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएका केही स्वार्थ समूह पहिलेबाटै सक्रिय रहेको र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएकाहरू अहिले आफूलाई थप कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागेको पनि घिसिङले दाबी गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ,– ‘प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पीपीए) र अन्य कतिपय असान्दर्भिक विषयलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्दछ ।’
आफ्नाविरुद्ध सुनियोजितरूपमा दूषित मनसायका साथ सामाजिक सञ्जालमार्फत् विवरण सार्वजनिक गरेको र सोही आधारमा विभिन्न सञ्चार माध्यममा समाचार आएको भन्दै दुःख व्यक्त गरेका छन्।
सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासो र निगरानीमा हुने भएकाले आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक राख्ने भए पनि उजुरी दर्ता गर्नासाथ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेर खरेलले चर्चामा आउन खोजेको घिसिङको विज्ञप्तिमा उल्लेख छ।










