घोकन्ते शिक्षाले देश विकास हुँदैन : डा बाबुराम भट्टराई

निरन्तर न्यूज
२५ जेष्ठ २०७६, शनिबार २१:४०

काभ्रेपलाञ्चोक। पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आज आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्व’ विषयको कार्यक्रममा उहाँले संसारलाई बुझ्ने र बदल्ने शिक्षा भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने बताएका हुन।

विकासको लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक/शिक्षिका लाग्नुपर्नेमा उनले जोड दिए। उनले भने, ‘आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक/शिक्षिका हुन्। पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उहाँहरुले गर्नुपर्दछ।’

कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खाली डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पु-याउन नसक्ने उल्लेख गर्दै उनले अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा जोड दिए। उनले अमेरिकालगायतका देश धन सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उल्लेख गरे।

प्रयोगात्मक शिक्षाको खाँचो रहेको र त्यससँगै सांस्कृतिक मूल्यमान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउन आवश्यक रहेको उनको भनाइ छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*