राजावादीहरुको सपना जेठ १५ होईन, कहिल्यै पनि पुरा हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजा फर्काउने राजावादीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् ।
उनले भने ‘यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन ।’
प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीहरूलाई आग्रह गरे । उनले इतिहासमा मिल्किसकेको राजतन्त्रको पछि लाग्न भन्दा संविधानअनुसार अघि बढ्न राजावादीहरूलाई सुझाव दिए ।
‘समयलाई चिनौं, समयानुसार अघि बढौं बंगलादेश बनाउँछौं भन्ने । बंगलादेशमा पनि बितेको राजा त फर्काएनन् त, त्यहाँ पनि राजा थिए नि एकपटक । श्रीलंकामा पनि राजा फर्काएको होइन । लोकतन्त्रभित्रको कुरा हो । लोकतन्त्र, संविधान, प्रणाली र शान्तिपूर्ण राजनीति भित्रको कुरा गर्न सिके हुन्थ्यो,’ उनले भने ।
राप्रपा, राप्रपा नेपाललगायतका पार्टी र विभिन्न राजावादी संघसंस्थाले नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन समितिमार्फत १५ जेठबाट अनिश्चितकालनि जनआन्दोलन घोषणा गरेका छन् ।
राजावादीहरूले राजसंस्था र हिन्दूराष्ट्र पुनस्र्थापना, संघीयता खारेजीलगायका एजेन्डा अघि सारेर आन्दोलन गर्दै आएका छन्