मस्कसँगको सम्बन्ध अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

निरन्तर न्यूज
२६ जेष्ठ २०८२, आईतवार ११:०६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अब अन्त्य भएको घोषणा गरेका छन् ।

शनिबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले यस्तो घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा मतभेद चर्किएर आरोप प्रत्यारोप चलिरहेका बेल ट्रम्पको यो प्रतिक्रिया हो ।

मस्कसँगको सम्बन्ध अन्त्य भएको हो? भनेर एनबीसी न्यूज सोधेको प्रश्नमा उनले भने, ‘त्यस्तै हो भन्ने लाग्छ।’

सम्बन्ध सुधार गर्ने चाहना छ ? भनेर सोध्दा उनले जवाफ दिए– छैन । मस्कले ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको सार्वजनिक आलोचना गरेपछि विवाद चर्किएको छ। यो विधेयक ट्रम्प प्रशासनको मुख्य घरेलु नीति हो।

एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘मस्कले राष्ट्रपति कार्यालयलाई सम्मान गर्न सकेनन्। यो एकदमै नराम्रो कुरा हो।’

एलन मस्कले ट्रम्पको चुनावी अभियानका लागि करोडौं डलर सहयोग गरेका थिए र ह्वाइट हाउसमा सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

धेरैजसो रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पकै पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै आक्रामक’ भएको बताए र अब उनलाई पुनः पार्टीभित्र स्वागत गरिने सम्भावना कम रहेको जनाए। केही हप्ता अघिदेखि मस्कले ट्रम्पको ‘बिग ब्युटीफूल बिल’ नाम दिइएको विधेयकको आलोचना गर्दै आएका थिए, जुन कंग्रेसमा पास हुने क्रममा थियो।

उनले भनेका थिए, ‘यो विधेयक पास भएमा यसले राष्ट्रको घाटा ट्रिलियन डलरसम्म बढाउनेछ र आफूले सरकारी खर्च कटौतीसम्बन्धी विभाग प्रमुखका रूपमा खर्च कटौती गर्न गरेको कामलाई कमजोर बनाउनेछ।

विभाग प्रमुखको रूपमा १२९ दिन काम गरेर बाहिरिएपछि मस्कले सामाजिक सञ्जाल एक्समा लेखे, ‘यो विधेयक घिनलाग्दो विकृति हो।’ यद्यपि उनले ट्रम्पको नाम लिएका थिएनन्।

तर, बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारबाट निराश छु।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु