हेटाैँडामा आज ‘प्रदेश स्पाेर्ट्स अवार्ड’

बागमती सरकारले हेटाैँडामा आज पहिलाे पटक प्रदेश स्पाेर्ट्स अवार्ड गर्दै
हेटौंडा। बागमती प्रदेश सरकारले पहिलाेपटक “प्रदेश स्पाेर्टस् अवार्ड २०८२’ गर्ने भएकाे छ । प्रदेश सरकारकाे युवा तथा खेलकुद मन्त्रालयले आज हेटौंडा उपमहानगरपालिका ४ स्थित हुप्रचौरमा अवार्ड गर्नलागेकाे मन्त्रालयका निमित्त सचिव सुर्य बहादुर दाहालले जानकारी दिए ।
खेलाडीको विदेश पलायन रोक्न र उनीहरूलाई प्रोत्साहन दिन प्रदेश सरकार सक्रिय छ भनेर प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारको सम्मान गर्नु यस कार्यक्रमकाे उद्देश्य रहेकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले बताए ।
सक्रियता याेगदान र सफलताकाे आधारसहित हालको उपलब्धि, समाजमा पारेको प्रभाव र नयाँ पुस्तामा पार्ने प्रेरणालाई आधार मानेर ८ विधामा १२ जनालाई अवार्ड प्रदान गरिने मन्त्री महर्जनले बताए । अवार्ड दिइने विधाहरूमा उत्कृष्ट महिला र पुरुष खेलाडी, युवा खेलाडी, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी र उत्कृष्ट खेल पत्रकार समावेश गरिएकाे छ ।
उत्कृष्ट महिला/पुरुष खेलाडी, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट तथा खेलकुदको शान विधाका विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ। अवार्ड छनोटका लागि दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ। चयनमा व्यक्तिको विगतको योगदान, आधार मानिने मन्त्रालयले स्पष्ट पारेको छ।
अवार्ड कार्यक्रममा विभिन्न कलाकारका प्रस्तुती समेत रहनेछ । ३० लाख रुपैया लागत लाग्ने कार्यक्रमकाे मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने तय भएकाे मन्त्रालयले जनाएको छ।