हेटौँडामा फरक काम गर्ने साेचका साथ खुल्याे ‘चियालय’

हेटौँडा । बागमती प्रदेशकाे राजधानी हेटाैँडाकाे मुख्य स्थान हेटौँडा उपमहानगरपालिका–४, हुप्र चाैर नजिकै रहेकाे बासुदेव मार्गमा नयाँ व्यवसायिक ‘चियालय’ संचालनमा आएको छ । स्थानीय फिरोज खान र जेके श्रेष्ठको संयुक्त लगानीमा चियालय सुरु गरिएको हो ।
११ वर्षसम्म दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका जेके श्रेष्ठ र हेटौँडामै सुनचाँदी व्यवसायमा सक्रिय फिरोज खानबीचको साझेदारीमा झन्डै ६५ लाख रुपैयाँ लगानीमा चियालय स्थापना गरिएको हो ।
सञ्चालकद्वय श्रेष्ठ र खानले हेटौँडामै केही फरक र स्तरीय काम गर्नुपर्ने सोचका साथ चियालय सुरु गरेको बताएका छन् । ग्राहकका लागि यहाँ सामान्यदेखि उच्चस्तरसम्मका चियाको फराकिलो विकल्प उपलब्ध हुनेछ। साथै, हेटौँडाका लागि नौलो मानिएको ‘अरेबिक फालाफेल डिश’, ‘सुईरो टी’सँगको सहकार्यमा विभिन्न फ्लेवर बेस चिया पनि पाइने सञ्चालक श्रेष्ठले जानकारी दिए ।
“हामीले बजारमै पाइने मूल्यमा तर फरक स्वाद र गुणस्तर दिन खोजेका छौं,” श्रेष्ठले भने, “यहाँ आउने सबैलाई नयाँ अनुभव दिनेछौं। चिया मात्र होइन, यस क्षेत्रप्रति रुचि राख्नेहरूलाई हाम्रै एकेडेमीमार्फत तालिम दिने योजना पनि बनाएका छौं । अहिले पनि केहीले तालिम लिईरहनुभएको छ । ”
उनका अनुसार चियालयमा स्थानीय उत्पादन, अर्गानिक सामग्री र वातावरणमैत्री सेवामा विशेष जोड दिइएको छ ।
बिहीबार चियालयको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना लामाले गरिन् । उनले यस्ता नवप्रवर्तनमूलक व्यवसायहरूलाई प्रेरणादायी भन्दै प्रशंसा गरिन्।
“स्वदेशमै व्यवसाय गर्न चाहनेलाई कसैले रोकेर बस्दैन । जोश, सोच र योजना भए विदेशजस्तै मेहनत नेपालमै गरेर पनि सफलता मिल्छ,” नगरप्रमुख लामाले भनिन्, “देशमै केही गर्न चाहने युवाहरूका लागि यो उदाहरण बन्नेछ ।”
उनले स्थानीय तह युवामैत्री सोच र उद्यमशीलता प्रवर्द्धन गर्ने योजनामा प्रतिबद्ध रहेकोसमेत स्पष्ट पारिन् ।
कार्यक्रममा मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन साक्यले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गर्नु दूरदृष्टिपूर्ण निर्णय भएको उल्लेख गरे ।
“नेपालमै प्रशस्त सम्भावना छन्,” उनले भने, “त्यो सम्भावनालाई उपयोग गर्न सोच र साहस आवश्यक पर्छ। जेके र फिरोजले उदाहरणीय काम गर्नुभएको छ ।”
बिहीबार औपचारिक उद्घाटन सम्पन्न भए पनि चियालयको ‘ग्रान्ड ओपनिङ’ कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ। सेवा शुक्रबारदेखि नियमित रूपमा सुरु हुने सञ्चालक खानले जानकारी दिए ।