बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान

निरन्तर न्यूज
३२ जेष्ठ २०८२, शनिबार २१:५७

हेटौंडा । चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको हो ।

सर्वेक्षण अनुसार प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको छ भने प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुराउने संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षण अनुसार प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षण अनुसार सवारी साधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ७ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भइसकेको छ । नेपाल राष्ट्र बैङ्कले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ ।

प्रदेशका ९९.९७ प्रतिशत जनसङ्ख्या विद्युत पहुँचमा पुगेको छ । राष्ट्रिय स्तरमा ३ हजार ५१२ मेगावाट विद्युत उत्पादन भएकोमा १ हजार ५८८ मेगावाट (४५.२ प्रतिशत) बागमती प्रदेशबाट भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा प्रदेशका ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ भने प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको उल्लेख छ ।

कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.५२ प्रतिशत रहेको छ । जसमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.०७ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत र उद्योग क्षेत्रको ११.१३ प्रतिशत रहेको छ । उत्पादनमूलक उद्योगमा बागमतीको योगदान ३१.७ प्रतिशत रहेको छ भने राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७.१२ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

बागमती प्रदेशमा गरिबीको रेखामुनि बस्ने जनसङ्ख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु