मकवानपुरमा इन्द्रसरोवर पनि ‘पूर्ण खोप दिगोपना पालिका’

निरन्तर न्यूज
५ असार २०८२, बिहीबार १९:२७

हेटाैँडा । इन्द्रसरोवर गाउँपालिका ‘पूर्ण खोप दिगोपना सुनिश्चितता पालिका’ घोषित भएको छ। असार ४ गते एक विशेष समारोहका बीच गाउँपालिकालाई औपचारिक रूपमा उक्त घोषणा गरिएको हो।

खोप समन्वय समिति इन्द्रसरोवरका संयोजक तथा गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारले संयुक्त रूपमा घोषणा गरेका हुन्।

घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति थियो।

गाउँपालिकाले खोप समन्वय समितिको सक्रियतामा सबै वडामा घरभेट सर्वेक्षण, मासिक नियमित सेवा र छुटेका बालबालिकालाई खोप दिने अभियान सञ्चालन गरेको जनाएको छ।

पालिकाका अनुसार ०–१५ महिनाका १६३ जना र १६–२३ महिनाका ११४ जना बालबालिकाले पूर्ण खोप लगाएका छन्। पछिल्लो सर्वेक्षण अनुसार १६–२३ महिनाका सबै बालबालिकाले खोप लगाइसकेका छन्।

हाल इन्द्रसरोवर गाउँपालिकामा ५ वटा स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाइमार्फत सेवा प्रवाह भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*