इजरायल–इरान पूर्ण युद्धविरामका लागि सहमत भएकाे ट्रम्पकाे दावी

निरन्तर न्यूज
१० असार २०८२, मंगलवार ०८:२३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविरामको सहमति भएको दाबी गरेका छन्।उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा दुई देशबीच युद्धविराम सहमति भएको उल्लेख गरेका छन्।

‘म यो घोषणा गर्न पाउँदा खुशी छु कि इजरायल र इरानबीच पूर्ण युद्धविराम लागू हुनेछ। इरानले पहिलो १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ र इजरायलले अर्को १२ घण्टाको लागि आफ्नो हतियार राख्नेछ।’ १२ दिनको युद्ध अन्त्य गर्न मद्दत गर्ने दुवै देशका नेताहरूलाई उनले धन्यवाद दिएका छन्। ‘यो धेरै वर्षसम्म चल्न सक्थ्यो र पहिले कहिल्यै नदेखिएको मृत्यु र विनाश ल्याउन सक्थ्यो,’ उनले लेखेका छन्, ‘मध्य पूर्वमा शान्ति चाहने प्रधानमन्त्री नेतान्याहू, इजरायल र इरानका जनतालाई बधाई छ। यो संसारको लागि एक महान दिन हो!’

यद्यपि, इरान र इजरायलले युद्धविरामबारे अहिलेसम्म कुनै आधिकारिक बयान दिएका छैनन्। न्यूयोर्क टाइम्सका अनुसार, इजरायली सेनाका प्रवक्ताले युद्धविरामसम्बन्धी ट्रम्पको भनाइमा केही बोल्न अस्वीकार गरे । ट्रम्पको घोषणाको केही घण्टाअघि इरानले कतारमा रहेको अमेरिकी अल–उदेइद हवाई सैन्य अड्डामा १९ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। यद्यपि, आक्रमणमा कुनै हताहत भएको छैन, किनभने इरानले आक्रमणअघि नै यसबारे अलर्ट जारी गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*