कतारले खाेल्यो हवाइ मार्ग, स्थिति सामान्य बन्दै

निरन्तर न्यूज
१० असार २०८२, मंगलवार ०८:२७

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकाको अल उदेद एयर बेसमा प्रहार गरेको क्षेप्यास्त्र आक्रमणपछि कतारको जनजीवन सामान्य बन्दै गएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले हिजो बेलुकीको आक्रमणपछि जनजीवन सामान्य बन्दै गएको जानकारी दिएको दोहा न्यूजले जनाएको छ।

कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई आग्रह गरेको छ। जनजीवन सामान्य बन्दै गएपछि हवाईमार्ग पनि खुला गरिएको छ। इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको थियो।

इरानले अमेरिकी आणविक साइटमाथिको हमलाको जवाफस्वरूप कम्तीमा छ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। तीमध्ये एक मात्रै बेसभित्र खसेको र अरू सबै कतारको वायु प्रतिरक्षा प्रणालीले रोक्न सफल भएको कतारी अधिकारीहरुले दाबी गरेका छन्। इरान–इजरायलबीचको पछिल्लो तनावलाई मध्यनजर गर्दै कतारले सुरक्षा सतर्कता भने बढाएको छ।

इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा हिजो मिसाइल आक्रमण गरेसँगै इरान–इजरायल संघर्षले नयाँ मोड लिएको छ। तर आज बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै मध्यपूर्वमा बढ्दै गएको सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने संकेत पनि देखिएको छ। यद्यपि ट्रम्पको घोषणापछि अहिलेसम्म इजरायल वा इरानबाट ट्रम्पको कुनै प्रतिक्रिया आएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*