हेटौंडामा पहिलाेपटक ‘रोजगार महोत्सव’

निरन्तर न्यूज
१२ असार २०८२, बिहीबार १०:२७

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलोपटक रोजगारीमा जोड्ने लक्ष्यसहितको ‘रोजगार महोत्सव’ आयोजना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त पहलमा श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा आयोजना हुन लागेको यो महोत्सवले जिल्लाका दर्जनौ युवालाई रोजगारीको अवसर दिने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार महोत्सव असार १४ र १५ गते हेटौंडा–२ स्थित पल्पसा सभागृहमा आयोजना हुनेछ। कार्यक्रममा तीन दर्जनभन्दा बढी स्वदेशी तथा विदेशी उद्योग प्रतिष्ठानको सहभागिता रहने मकवानपुर एदोग बाणिज्यसंघका अध्यक्ष प्रमोदसिंह रानाभाटले बताए ।

हेटौंडा र वरपरका जिल्लामा रहेका बेरोजगार तथा रोजगारी खोजिरहेका युवा तथा विद्यार्थीलाई रोजगारीको अवसरसँग प्रत्यक्ष जोड्नु रहेको मकवानपुर उद्योग बाणिज्यसंघका उपाध्यक्ष उज्वल चौलागाँईले बताए । कार्यक्रम प्लस टु तहका विद्यार्थी, अभिभावक, कलेज तहका युवा र रोजगार खोजीमा रहेका युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको हो।

महोत्सवमा सहभागी उद्योगहरुले अन द स्पट जब अफर अनुसार रोजगारी दिन सक्नेछन् भने व्यवसाय गर्न चाहने युवाहरुलाई व्यवसायिक परामर्श, बजारीकरण सम्बन्धी तालिम, तथा बैंक कर्जा प्रवाहको प्रक्रियासमेत जानकारी गराइनेछ। साथै, श्रम र रोजगारसँग सम्बन्धित विविध विषयमा विज्ञ तथा अनुभवी व्यक्तिहरुको सहभागितामा प्यानल डिस्कसन समेत आयोजना गरिनेछ।

कार्यक्रमको औपचारिक उद्घाटन श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले असार १४ गते शनिबार गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु