विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन: ओली

निरन्तर न्यूज
४ श्रावण २०८२, शनिबार २०:३३

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका छन्। त्यतिमात्रै होईन, ओलीले भण्डारी राजनीतिमा आउन नहुने र अहिले कसैले उचालेको पनि बताएका छन्

गत असार १४ गते मदन जयन्तीका दिन पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा फर्किएको बताएकी भण्डारीको सदस्यता नवीकरण नभएको ओलीले पोलिटब्यूरो बैठकमा बताएका हुन् ।

शुक्रबार पोलिटब्युरो बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण नै नभएको दाबी गरेका हुन्।

पोलिटब्यूरो बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध ठूलो संगठित हमला भइरहेको दाबी गरे । यहीबेला पार्टी भित्रबाट पनि हमला सुरु भएको र यो रोकिनुपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ ।’

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा पत्रिकाबाट थाहा भएको उनले दाबी गरेका छन् । भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको र यसको निर्णय कमिटीले गर्ने अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमालेको पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो, अहिलेको संवैधानिक व्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो’, उनले भने, ‘उचालेका आधारमा उहाँ सक्रिय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नवीकरण भएको छैन । सदस्यताको निर्णय कमिटीले गर्छ । विधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो व्यक्तिगत धारणा हो’, ओलीले भने ।

पार्टीको विधानका बारेमा नानाथरी धारणा राख्दै हिड्नेलाई उनले पार्टी पद्धति र प्रकृयाका विषयमा पार्टीभित्र छलफल हुने र पार्टीमाथि आक्रमण भएका बेला बाहिर गएर बोल्ने कुरा उचित नभएको अध्यक्ष ओलीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*