मकवानपुरका प्रहरी र प्रशासनविरुद्ध हेटौंडाका जनप्रतिनिधिकाे आन्दोलन

निरन्तर न्यूज
६ श्रावण २०८२, सोमबार १०:४५

हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना वितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् । उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरमा टेवल राखेर सेवा प्रबाह गरी आन्दोलनको सुरुवात गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो करिब पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटना घटेको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पनि पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।

हेटौंडाका वडाअध्यक्षहरुले दुईदिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेवल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने जनाएका हुन् । ‘वडा अध्यक्षमाथि आक्रमण भएको एक महिना भैसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुरको प्रहरी प्रशासनको लाचारीपन हो’, हेटौंडा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’

वडा अध्यक्षमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै हेटौंडामा प्रहरी- प्रशासनको चौतर्फी विरोध भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काबाट न्याय पाउने सम्भावना नरहेकाले वार्तामा नबस्ने जनप्रतिनिधिले जनाएका छन् ।

करिब एक महिना अगाडि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडा अध्यक्षमाथि आक्रमणहुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी आन्दोलित भएका थिए ।

प्रहरीले वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्य समेत गर्न छोडेको आरोप जनप्रतिनिधिको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिहरुले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*