दर्शनार्थीलाई गर्मीमा राहत दिन पशुपति मन्दिरमा पानीको फोहरा
काठमाडौं । आज हर्षोल्लासपूर्वक हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। तीज मनाउन मङ्गलबार बिहान उज्यालो नहुँदैदेखि काठमाडौँको पशुपतिसहित देशैभरिका शिवालयहरूमा व्रतालु महिलाको घुइँचो लागेको छ। पशुपतिनाथमा दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिसकेपछि नाचगान गरिरहेका छन् ।
पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाको लागि व्यव्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यसका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए।
केही भक्तजन भने मंगलबार बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए। पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटिएका छन्।
व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको हो । आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको अधिकारीले बताए ।
पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने चार वटा लाइन र भित्र छिरिसकेपछि आठवटा लाइनको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।










