सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपालले एसीटीलाई हरायो

निरन्तर न्यूज
१० भाद्र २०८२, मंगलवार १२:४३

काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपालले पहिलो टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४१ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरी १ सय ७७ रन बनाएको नेपालले एसीटीलाई १७.२ ओभरमा १३६ रनमा अलआउट गर्यो ।

एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० जोडे । काइ ब्रंकर ११ बलमा आक्रामक खेल्दै २७ जोड्दै नटआउट रहे । जाक केघले २५ रन बनाए । सन्दीपले ह्‍याट्रिकसहित ५ विकेट लिँदा ३१ रन दिए । त्यस्तै करण केसीले १२ रन दिएर २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले ३८ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपालले आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी–२० र एक वान डे खेल्नेछ ।

टप एन्ड टी–२० सिरिजबाट बाहिरिएपछि नेपाल अभ्यास खेल खेलिरहेको छ । आगामी विश्वकप छनोटको तयारीका लागि नेपाल अस्ट्रेलिया टुरमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*