वैदेशिक रोजगार क्षेत्रकाे समस्या समाधान गर्न सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री पाेखरेल
असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी समेत गरे । मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उनले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्याहरुलाई स्वागत गर्दै समाधान गर्न सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
तर त्यसका लागि व्यवसायीहरुले समाधानको उपायसहित समस्या लिएर सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ । ‘आफ्ना समस्याहरु समाधानको उपायसहित लिएर सरकार कहाँ आउन म वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गर्दछु,’ पोखरेलले भने ‘ती समस्या व्यवसायीसँगै बसेर समाधान गर्न सरकार प्रतिवद्ध छ ।’ उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगार व्यवसायीको मनमा केही चोट परेको भए त्यसमा मलम लगाउने पनि बताए ।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीहरुको सुझावलाई सरकारले सधैं आत्मासात गर्दै अघि बढेको दावी गर्नु भयो । उहाँले वैदेशिक रोजगार व्यवसायीहरुको धरौटीवापतको रकमबाट ब्याजको व्यवस्था गरी उनीहरुको स्वास्थ्य उपचारको समेत व्यवस्था सरकारले गरेको पनि स्मरण गराउनु भयो । वैदेशिक रोजगार व्यवसायसम्बन्धि आएको समस्याको समाधान राजनीतिक तहमा सर्वसम्मतिका आधारमा सरकारले गर्ने गरेको पनि मन्त्री विष्टको दावी छ ।
मन्त्री विष्टले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकारले सबै राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताए ।











