पूर्वराजा ज्ञानेन्द्रको शासन र ओलीको शासनमा कुनै फरक देखिन : बालकृष्ण खाँड

निरन्तर न्यूज
१३ आश्विन २०७६, सोमबार १४:२३

जनकपुरधाम। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले तनहुँमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक खाँडले उक्त घटनाको निन्दा गर्दै उक्त घटनाले ओली नेतृत्वको कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको स्पष्ट भएको बताए । पूर्वराजा ज्ञानेन्द्रको शासन र ओली जीको शासनमा कुनै फरक नदेखिएको नेता खाँडको टिप्पणी थियो ।

नेता खाँडले चितवनमा नेकपाकै कार्यकर्ताले ज्ञानेन्द्र शाहीलाई गरेको कुटपिट घटनाप्रति समेत आपत्ति जनाए ।

ज्ञानेन्द्र शाहीको विचारसँग कांग्रेस सहमत हुन नसक्ने बताउँदै खाँडले प्रश्न गरे, ‘विचार नमिल्दैमा बोल्न नदिने? कार्यक्रम पनि गर्न नदिने ? जिल्ला प्रवेश गर्दा कुटपिट गर्न लगाउने ?’ आफ्नो विचार पनि व्यक्त गर्न नदिने ओली सरकारको शैली ज्ञानेन्द्र शाहको शासन कालको मण्डले जस्तो भएको आरोप लगाए ।

एक फरक प्रसंगमा प्रमुख सचेतक खाँडले नेकपाले चिनिया कम्युनिष्ट विचार धारा नेपालमा ल्याउन खोजेकोमा असहमति जनाउँदै भने, ‘चीनमा न प्रेस स्वतन्त्रता छ, न मानव अधिकार। अनि त्यहाँका व्यवस्थाको नक्कल गरे जनताले स्वीकार्न सक्दैन।’

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु