बलात्कारको आरोप लागेपछि सभामुख महराले राजीनामा दिँदै

निरन्तर न्यूज
१४ आश्विन २०७६, मंगलवार ११:३०

काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत १ महिलाले सभामुख कृष्ण बहादुर महरामाथि बलात्‍कार गरेको आरोप लगाएकी हुन् । आफूमाथि गम्भीर आरोप लागेपछि महराले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् ।

महराले मंगलबार दिउँसो १ बजे राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ । महराले आफूमाथि यौन दुराचारको आरोप लागेपछि पार्टीको सुझावमा सभामुखबाट राजीनामा दिन लागेका हुन् ।

यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समेत सभामुख महराको राजीनामा माग्ने भएको छ । सभामुख महरा यौनदुराचार प्रकरणमा मुछिएपछि पार्टीले राजीनामा माग्न लागेको हो । त्यसबारेमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएकाे छ ।

यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ । नेकपा नेता तथा कार्यकर्ताले महराले राजीनामा दिनुपर्ने बताएका छन् ।

तर आरोपबारे समाचार बाहिर आएलगत्तै महराका प्रेस सल्लाहकार डिल्ली मल्लले एक विज्ञप्ति जारी गर्दै उक्त आरोपको खण्डन गरेका हुन् ।

‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।’

सभामुख महरामाथि बलात्कारको आरोप लगाउने महिला संसद सचिवालयमा कार्यरत‍ छिन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ । ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला उक्त युनिटमा काजमा कार्यरत छिन् । साझापाेष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*