वडाध्यक्ष शेरबहादुर सुवालसहित १० विरुद्ध किटानी जाहेरी
बनेपा । बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पुर्याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ ।
बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पुर्याएको जनाउँदै किटानी जाहेरी दिइएको हो ।
नगरपालिका उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पुर्याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो ।
‘वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध शान्तिसुरक्षामा खलल पुर्याइ तोडफोडमा उत्रिएको आरोपमा जाहेरी आएको छ,’ जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने । उनका अनुसार जाहेरीमा शान्तिसुरक्षामा खलल पुर्याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छद–२ अनुसार कारवाहीको माग गरिएको छ ।
स्थानीयले अवरोध पुर्याएपछि भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले छ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँचजना स्थानीय सामान्य घाइते भएका थिए ।
प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ ९सङ्घर्ष समिति अध्यक्ष०लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।’ बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेशिन राख्न सहमत भएका थिए ।
यसैबीच बिहीबार बिहान नगरपालिकाको कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीको अध्यक्षतामा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षाप्रमुख तथा कर्मचारी सम्मिलित बैठकले फोहर व्यवस्थापन गर्ने भनिएको स्थानमा पुनःकाम शुरु गर्ने, वातावरण परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउने, प्रतिवेदनपछि फोहर व्यवस्थापनको काम सुरु गर्ने निर्णय गरेको छ ।
आजै पक्राउ गरिएका घिसिङको रिहाइको माग गर्दै स्थानीय महिलाले नगर कार्यालयको गेटमा प्लोकार्डसहित धर्ना दिएका छन् भने नेपाली काङ्ग्रेससहित केही दलले थप बृहत् छलफल गरी फोहर व्यवस्थापनका लागि उचित स्थान छनोट गर्न सुझावसहित जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् । श्रोत नागरिक खबर











