ओलीले मन्त्री फेर्न तयारी तीव्र, शुक्रबार बोलाए सचिवालय बैठक
काठमाडौं । लामो समयदेखि मन्त्रिमण्डल परिवर्तनको चर्चा चल्दै आएपनि अन्ततः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उक्त चर्चालाई यथार्थमा परिणत गर्ने भएका छन् । मन्त्रिपरिषद् परिवर्तनका लागि प्रधानमन्त्री ओलीले आफ्नो गृहकार्यलाई तीव्रता दिएका छन् ।
मंगलबार नेकपा नेता माधवकुमार नेपालसँग लामो समयपछि घन्टौं छलफल गरेका ओलीले विहीबार पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग करिब डेढघण्टा छलफल गरेका छन् । ओलीले दुवै नेताहरुसँग लामो संवादपछि ८ जना मन्त्रीलाई बिदाई गर्ने तयारीलाई अन्तिमरुप दिएका छन् । नेताद्वय प्रचण्ड र नेपालसँग गरिएको गृहकार्यलाई पार्टीबाट निर्णय गराउन ओलीले शुक्रबार बिहान नेकपा सचिवालयको बैठक समेत बोलाएका छन् ।
ओलीले ८ मन्त्रीलाई बिदाई गरेर नयाँ अनुहारलाई ल्याउने तयारीसँगै केही पुरानै मन्त्रीहरुको मन्त्रालय परिवर्तनको तयारी समेत गरेका छन् ।
ओलीले प्रधानमन्त्री सम्हालेको पछिल्ला २० महिनामा विभिन्न मन्त्रालय सम्हालेका मन्त्रीहरुले गरेको कामको मूल्यांकनको आधारमा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गर्न लागेको बालुवाटार स्रोतले बताएको छ ।
शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सचिवालय बैठकको एजेन्डा सार्वजनिक गरी नसकिए पनि मन्त्रिपरिषद् हेरफेर नै प्रमुख एजेन्डा भएको नेकपाका एक नेताले जानकारी दिए ।
मन्त्रीहरुलाई हेरफेर गराउन सहजताका लागि ओलीले यसअघि नै आफ्ना विश्वासपात्रहरुले बनेको सल्लाहकार संरचनाका सदस्यहरुलाई राजीनामा लागि निर्देशन दिइसकेका छन् ।
यसबीचमा प्रधानमन्त्री ओलीले समाजवादी पार्टीलाई पनि सरकारबाट बाहिरिन अनुरोध गरिसकेका छन् । यद्यपि, समाजवादीले यसबारेमा शुक्रबार र शनिबार काठमाडौंमा चल्ने केन्द्रीय समितिको बैठकबाट निर्णय लिनेछ ।











