आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ मा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।
पोखरा महानगरपालिका १५ का वडाध्यक्ष प्रकाश पौडेलले आचारसंहिता विपरित कम्बल बाँडेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको हो । कम्बल बाँडेको वडा नम्बर १५ उपनिर्वाचन हुन लागेको कास्की क्षेत्र नम्बर २ मा पर्दछ । वडा नम्बर १५ पट्नेरी बस्तीमा १२ थान कम्बल वितरण गरेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राखेर वडा अध्यक्ष पौडेलले सहयोग संस्थालाई धन्यवाद दिएका थिए ।
सो फोटो सामाजिक सञ्चालमा आएपछि मतदातालाई प्रभावित गर्ने काम भएको भन्दै विरोध भएको थियो । नेपाली कांग्रेसले पौडेलको सोही स्ट्याटसलाई आधार बनाएर आयोगमा उजुरी दिएको जनाईएको छ । यसअघि पनि आयोगले निर्वाचन आचारसंहिता पालना गर्न दलहरुलाई सचेत गराईसकेको छ ।











