५ मन्त्री ‘आउट’: यी हुन् नयाँ मन्त्रीहरुको (नामावलीसहित)

निरन्तर न्यूज
४ मंसिर २०७६, बुधबार १४:४७

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचमन्त्री र दुई जना राज्यमन्त्रीलाई आफ्नो मन्त्रिमण्डलबाट हटाउन लागेका छन् ।

ओलीले बिदाइ गर्न लागेका मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापा, श्रममन्त्री गोकर्ण विष्ट र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित रहेका छन् ।

तर प्रधानमन्त्रीले हटाउन लागेका मन्त्रीको नाममा केही फेरबदल हुन सक्ने समेत बालुवाटार स्रोतले बताएको छ ।

यस्तै कृषि राज्यमन्त्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि हटाइने सूचीमा परेका छन् ।

नयाँ मन्त्री बन्नेको सूचीमा लेखराज भट्ट, रामेश्वर यादव, बिमला राई, बसन्त नेम्वाङ र सुरेन्द्र पाण्डेको नाम अग्रपंक्तिमा छ । नयाँ मन्त्रीको शपथग्रहण आजै हुने बताइएको छ ।

मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भइसकेको छ ।

नेकपा सचिवालय बैठकमा अध्यक्षको कार्यविभाजन र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे समेत छलफल हुनेछ । बैठकले हट्न लागेका मन्त्री र नयाँ नियुक्त हुन लागेका व्यक्तिको नामावलीलाई अनुमोदन गर्नेछ ।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन् ।

मन्त्रिपरिषद पुनर्गठनलाई लिएर बुधबार बिहान प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल समेत भएको थियो ।

छलफललगत्तै ओली र प्रचण्ड राष्ट्रपति कार्यालय पुगेका थिए । बुधबार बिहान ओली र प्रचण्ड शितलनिवास पुगेर मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति भण्डारीसँग परामर्श गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*