अभिनेता पल शाहले दिए ढोरपाटनका बाढी प्रभावितलाई राहत

निरन्तर न्यूज
२६ भाद्र २०७७, शुक्रबार १२:४४

बागलुङ । अभिनेता पल शाह र गायक दुर्गेश थापा लगायतको टोलीले बागलुङको ढोरपाटनका बाढी प्रभावितलाई राहत प्रदान गरेका छन् ।

अभिनेता पल र गायक दुर्गेशले पल शाह फाउण्डेशन र ‘हाम्रो टिम नेपाल’को तर्फबाट ५० हजार रुपैयाँ सहित खाद्यन्न, लत्ताकपडा र स्टेशनरी सामग्री ढोरपाटन नगरपालिकाका नगरप्रमुख देबकुमार नेपालीलाई प्रदान गरेका हुन् ।

राहतमा ३० बोरा चामल, ३० जोर सिरक÷डसना, नुन, तेल, कापी, कलम लगाएतका सामग्री प्राप्त रहेका छन् । भदौ १७ गते राती भुजीखोलामा आएको बाढीले प्रभावित बनेका ढोरपाटन नगरपालिका–९, ८ र ७ का पीडितहरुको लागि काठमाडौ देखि बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ पुगेर अभिनेता पल र गायक दुर्गेशले राहत दिएका हुन् ।

बाढी प्रभावित क्षेत्र सम्म पुग्नको लागि बाढीकै कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएकाले राहत सामग्री छिट्टै प्रभावित परिवार समक्ष पुर्‍याउने नगरप्रमुख नेपालीले बताउनुभएको छ ।

अभिनेता शाहले यसअघि कालिकोटलगायतका ठाउँमा पुगी पहिरो प्रभावित परिवारलाई राहत वितरण गर्नुभएको थियो । हाम्रो टिम नेपालसँग मिलेर उहाँले काठमाडौँमा गरिब, मजदुर र असहायलाई भोजन पनि गराउँदै आउनुभएको छ ।

बाढीमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको छ भने १६ अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी छ ।श्रोत युजअफ नेपाल

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु