ट्रकको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु

काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका-१० मा ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय विक्रम साह तेलीकी छोरी अनुष्का साहको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
गएराति ९ बजे इश्लामपुरबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ६७६५ नम्बरको ट्रकले बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।
ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय डुमरियाले नियन्त्रणमा लिएको छ।
यस्तै सुनसरीको कोशी गाउँपालिका-७ मा ठेलालाई ठक्कर दिएर मोटरसाइकल समेत अनियन्त्रित भई पल्टँदा तीनजना घाइते भएका छन्।
घाइते हुनेमा ठेला चालक स्थानीय २० वर्षीय रबिन्द्र मुखिया, मोटरसाइकल चालक सप्तरीको कटैयाका ३५ वर्षीय सुरेशकुमार साह र मोटरसाइकलमा पछाडि सवार शम्भुनाथ नगरपालिका-५ का ६५ वर्षीय जोगेन्द्र साह रहेका छन्।
घाइते तिनैजनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ठेलालाई ठक्कर दिएर स ११ प ३५९ नम्बरको मोटरसाइकल पल्टिएको थियो।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को सिमानामा पर्ने जुरेस्थित अरनिको राजमार्गमा आज बिहान ३ बजे माथिबाट लेदोमाटो सहितको पहिरो झरेर सडक अवरुद्ध भएको छ।
पहिरोका कारण तातोपानी बाह्रबिसे सडक खण्ड अवरुद्ध भएको छ। प्रहरी चौकी लामोसाँघुबाट खटिएको प्रहरी टोलीले बाटो खुलाउने प्रयास गरिरहेको छ।