कक्षा १२ को परीक्षा साउन अन्तिमबाट

निरन्तर न्यूज
५ श्रावण २०७८, मंगलवार ०९:३७

काठमाडौं । कोरोना (कोभिड – १९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।

एक सय पूर्णाङ्ककै परीक्षा

यसैबीच बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो । बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा पुगिएको हो ।

कोरोना सङ्क्रमण अझै कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिने योजनामा आफूहरू रहेको जानकारी अध्यक्ष पौडेलल दिए । परीक्षामा ‘होमसेन्टर’ कायम गर्ने या नगर्ने, परीक्षा केन्द्र थपलगायतको परीक्षाको नीतिगत विषयमा भने आफूहरू छिटै टुङ्गोमा पुग्ने जानकारी उनले दिए । एक विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान अझै सम्भव नदेखिएकाले होम सेन्टर हुन सक्ने सम्भावना रहेको छ ।

कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो । यसअघि सीसीएमसीले त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र द्वितीय वर्षको परीक्षा सञ्चालनका लागिसमेत अनुमति दिएको थियो । सोअनुसार यसै साताबाट विश्वविद्यालय परीक्षा सुरु गर्दै छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*