बोस्टनमा एनआरएनएद्वारा आयोजित कार्यक्रम ‘प्रशंसा तथा सांस्कृतिक उत्सव’ सम्पन्न

निरन्तर न्यूज
२ आश्विन २०८०, मंगलवार २१:१२

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका(NRNA,NCC,USA)को मासाच्युसेट्स च्याप्टरद्वारा आयोजित ‘प्रशंसा तथा सांस्कृतिक उत्सव(Application Event and Cultural Celebration) कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरुको महान चाड ‘हरितालिका तीज’को अवसर पारेर आफ्ना सदस्यहरुप्रति सम्मान व्यक्त गर्ने र नेपालीहरुको महत्वपूर्ण सांस्कृतिक उत्सव ‘हरितालिका तीज’ पनि मनाउने मुख्य उद्देश्यले आयोजित उक्त कार्यक्रम, गत सेप्टेम्बर १५ तारिख सुक्रवारका दिन अमेरिकाको बोस्टन सहरमा सम्पन्न भएको हो। उक्त कार्यक्रम संस्थाको दुइ वर्षीय कार्यकाल(सन् २०२३-२५)का लागि नव निर्वाचित कार्यसमितिको पदस्थापन पश्चात् आयोजित पहिलो प्रमुख कार्यक्रम हो।

कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो। संस्थाका अध्यक्ष प्रचण्ड श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष प्रेम तामाङको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि तामाङले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हरितालिका तीजको सबैलाई शुभकामना दिएका थिए। उनले संस्थालाई उचाइमा पुर्याउन सदस्यहरुले प्रदर्शन गर्दै आएको एकता र योगदानको खुलेर प्रशंसा गरेका थिए। सम्बोधनका क्रममा उनले संस्थाको उद्देश्य र महत्वका बारेमा प्रकाश पार्दै आफूहरुलाई निर्वाचित गराउन साथ सहयोग पुर्याउने र अमूल्य मतदान गर्ने सबैलाई धन्यवाद प्रकट गरेका थिए।


संस्थाका अध्यक्ष प्रचण्ड श्रेष्ठले पनि तीजको शुभकामना व्यक्त गर्दै सहयोगी तथा मतदाताहरुलाई धन्यवाद दिएका थिए। उनले आगामी दिनहरुमा पनि साथ र सहयोगको निरन्तरताका लागि अनुरोध गरेका थिए। यसैगरी, एनआरएनए, एनसिसिकी सदस्य शृजना शर्मा, वरिष्ठ नेपाली लोक गायिका हरिदेवी कोइरालालगायतले हरितालिका तीजको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थालाई अमूल्य योगदान गरेको भन्दै सम्मान स्वरुप प्रमुख अतिथि प्रेम तामाङमार्फत सात जना व्यक्तित्वहरुलाई प्रशंसा-पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो। सम्मानित हुने व्यक्तित्वहरुमा अजय कुशवाह(निवर्तमान कोषाध्यक्ष), अन्जु थापा(निवर्तमान महिला संयोजक), शिव मिश्र(निवर्तमान कार्यसमिति सदस्य), प्रमिला धमला बंजारा, (निवर्तमान कार्यसमिति सदस्य), अन्जना घले, निवर्तमान कार्यसमिति सदस्य) र कृष्ण महत(कार्यसमिति सदस्य) रहेका थिए। यसैगरी, संस्थाको सल्लाहकार समितिमा मनोनीत भएका व्यक्तित्वहरु मिन गुरुङ, चन्द्र बहादुर मल्ल, जालप्रसाद घिमिरे, प्रकाश अधिकारी, जुनी गुरुङ, विजय तामाङ र थानीरत्न कंडेललाई कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनए, एनसिसि, अमेरिकाका उपाध्यक्ष प्रेम तामाङले प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमको दोश्रो चरण सांस्कृतिक उत्सव रहेको थियो। जस अन्तर्गत नेपालीहरुको महान चाड ‘हरितालिका तीजको स्मरण गर्दै सहभागीहरुले आपसमा शुभकामना आदानप्रदान गरेका थिए। नेपालीपन तथा पहिचान झल्काउने पहिरन र शृंगारमा सजिएका सहभागी नारीहरुले, हरितालिका तीज लक्षित गीत संगीतमा नाचगान गर्दै हर्षोल्लास मनाएका थिए। कार्यक्रममा संस्थाकी सचिव सलोनी भण्डारीले तीज लक्षित बहुचर्चित गीत ‘तीजको रहर आयो बरिलैमा…’ मा आकर्षक नृत्य प्रस्तुत गर्दै सांगीतिक माहोल तताएकी थिइन्। सांगीतिक माहोलको उपयोग गर्दै रोश्ना थापा मगर, रोनिश्का थापा, नित्या शर्मा आचार्य, दिक्षा गुरुङ, शिला घलेलगायतले तीज लक्षित गीतहरुमा बेजोड नृत्य गरेर कार्यक्रम स्थल तीजमय बनाएका थिए। सांगीतिक माहोलमा थप रौनकता दिन संस्थाका युवा संयोजक मुकुन्द पोखरेलले DJ को भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा ५ सय पचासको हाराहारीले सहभागिता जनाएको आयोजकले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*