भीएआर प्रोटोकल उल्लंघन हुँदा इजिप्ट बाहिरियो : भीएआर विशेषज्ञ

निरन्तर न्यूज
२५ असार २०८३, बिहीबार ०८:०२

काठमाडौं । अर्जेन्टिनाविरुद्धको खेलमा इजिप्टले २–० को अग्रता लिन सक्ने गोल भीएआरमार्फत रद्द गरिएपछि सुरु भएको विवादमा मेक्सिकन रेफ्री फर्नान्डो गुरेरोले रेफ्री टोलीको निर्णयमाथि गम्भीर प्रश्न उठाएका छन् ।

उनका अनुसार फ्रान्सेली रेफ्री टोलीले भीएआर प्रोटोकल सही रूपमा लागु नगर्दा गलत निर्णय भएको थियो ।

फर्नान्डो गुरेरो अन्तर्राष्ट्रिय फुटबलका अनुभवी रेफ्री तथा भीएआर विशेषज्ञ हुन् । सन् २०२२ को फिफा विश्वकप फाइनलमा उनी सपोर्ट भीएआरको भूमिकामा थिए । कतार विश्वकपमा उनले विभिन्न भूमिकामा ११ वटा खेलमा भीएआर अफिसियलका रूपमा काम गरेका थिए ।

उनले डेनमार्क–ट्युनिसिया, बेल्जियम–मोरक्को र जापान–स्पेनबीचका खेलमा मुख्य भीएआरको जिम्मेवारी सम्हालेका थिए । त्यसबाहेक जर्मनी–जापान, ब्राजिल–स्विट्जरल्याण्ड, ट्युनिसिया–फ्रान्स, स्विट्जरल्याण्ड–क्यामरुन तथा वेल्स–इरानबीचका खेलमा पनि विभिन्न भीएआर भूमिकामा कार्यरत थिए ।

सामाजिक सञ्जाल ‘एक्स’मा प्राविधिक विश्लेषण सार्वजनिक गर्दै गुरेरोले लेखेका छन्, “इजिप्टका खेलाडीले अर्जेन्टिनाका डिफेन्डर लिसान्ड्रो मार्टिनेजमाथि कुनै फाउल गरेका थिएनन् । यदि रेफ्री टोलीले त्यसलाई फल मानेकै भए पनि, उक्त घटनालाई ‘अट्याकिङ पजेसन फेज’ अन्तर्गत राखेर भीएआर समीक्षा गर्नु नियमअनुसार उचित थिएन ।”

गुरेरोले औँल्याएका दुई मुख्य प्राविधिक त्रुटि

गुरेरोका अनुसार फाउलको घटनापछि पनि अर्जेन्टिनाका डिफेन्डरहरू व्यवस्थित अवस्थामा थिए र उनीहरूसँग बल क्लियर गर्ने पर्याप्त समय तथा स्थान उपलब्ध थियो ।

उनका अनुसार इजिप्टले गोल गर्नुअघि अर्जेन्टिनाले कम्तीमा तीनपटक बल पुनः नियन्त्रणमा लिन सक्ने अवसर पाएको थियो । तर, टोली त्यसमा असफल भयो ।

फिफाको भीएआर प्रोटोकलअनुसार विपक्षी टोलीले बल पुनः नियन्त्रण गर्ने वास्तविक अवसर पाएपछि पुरानो घटनालाई आधार बनाएर भीएआरले हस्तक्षेप गर्न मिल्दैन ।

गुरेरोले भने, “भीएआर र मुख्य रेफ्री दुवैले यहाँ गम्भीर गल्ती गरेका छन् । त्यसले इजिप्टलाई प्रत्यक्ष नोक्सान पुर्‍यायो र अन्ततः उनीहरू प्रतियोगिताबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भयो ।”

फिफामाथि बढ्यो दबाब

गुरेरोको प्राविधिक विश्लेषण सार्वजनिक भएपछि इजिप्ट फुटबल एसोसिएसनले उठाएको प्रश्नले थप बल पाएको छ । इजिप्टले रेफ्री टोलीको निर्णयका कारण आफूहरू विश्वकपबाट बाहिरिएको, खेलमा दोहोरो मापदण्ड अपनाइएको तथा घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै फिफामा औपचारिक उजुरी दर्ता गरिसकेको छ ।

यद्यपि, खेल फिक्स भएको वा रेफ्रीले जानाजानी पक्षपात गरेको भन्ने आरोप अहिलेसम्म प्रमाणित भएको छैन । गुरेरोको टिप्पणीले खेल मिलेमतो भएको दाबी नगरी भीएआर प्रोटोकलको प्रयोग र रेफ्री टोलीको प्राविधिक निर्णयमाथि मात्र प्रश्न उठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*