नेपाल–चीन सम्बन्धलाई नयाँ सहकार्यमा जोड्नुपर्ने
काठमाडौं । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षको अवसरमा आयोजित सेमिनारमा ऐतिहासिक सम्बन्धलाई आधुनिक आर्थिक, सांस्कृतिक, शैक्षिक र जनस्तरीय सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।
Friends of Silk Road Club–Nepal द्वारा आयोजित कार्यक्रममा नेपाल तथा चीनका प्राध्यापक, अनुसन्धानकर्ता र विज्ञहरूले नेपाल–चीन सम्बन्ध, क्षेत्रीय परिवेश, इतिहास, संस्कृति, आर्थिक सहकार्य र भावी सम्भावनाबारे धारणा राखेका थिए।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले नेपाललाई ‘land-linked’ मुलुकका रूपमा विकास गर्दै चीनसँगको कनेक्टिभिटीलाई क्षेत्रीय व्यापार र आर्थिक अवसरसँग जोड्नुपर्ने बताए। विश्वविद्यालय तथा अनुसन्धान संस्थाबीच सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
चिनियाँ विज्ञहरू Xie Chao, Hu Xiaowen, Wei Zongyou, डा. Li Hongmei, Kong Lingyuan, Zhang Shubin, Zhang Jiadong र Deng Yuncheng लगायतले चीनको विदेश नीति, नेपाल–चीन सम्बन्ध, ऐतिहासिक तथा सांस्कृतिक सम्पर्क, आर्थिक सहकार्य र क्षेत्रीय सम्बन्धका विषयमा प्रस्तुति दिएका थिए। उनीहरूले दुई देशबीचको पारस्परिक समझदारी, सहकार्य र जनस्तरीय सम्पर्कलाई थप बलियो बनाउनुपर्ने पक्षमा धारणा राखेका थिए।
कार्यक्रममा व्यापार असन्तुलन, कमजोर निर्यात, लगानी कार्यान्वयन र सीमापार कनेक्टिभिटीका चुनौतीबारे पनि चर्चा भयो। BRI तथा कनेक्टिभिटीलाई व्यापार, लगानी, पर्यटन र क्षेत्रीय आर्थिक एकीकरणसँग जोडेर राष्ट्रिय हितअनुकूल अघि बढाउनुपर्नेमा जोड दिइयो।
एनेका रेबेका राजभण्डारी र डा. बलराम दुवालले भाषा तथा संस्कृतिलाई जनस्तरीय सम्बन्धको पुलका रूपमा विकास गर्नुपर्ने बताए भने डा. रूपक सापकोटाले ऐतिहासिक सभ्यतागत सम्बन्धलाई आधुनिक आर्थिक सहकार्यसँग जोड्नुपर्ने धारणा राखे।
क्लबका महासचिव डा. कल्याणराज शर्माले फरक दृष्टिकोणका व्यक्तिलाई एउटै मञ्चमा ल्याउनु कार्यक्रमको महत्वपूर्ण पक्ष भएको बताउँदै संयुक्त अनुसन्धान, विश्वविद्यालय साझेदारी, विद्यार्थी–अनुसन्धानकर्ता आदानप्रदान र नीतिगत सहकार्यलाई ठोस रूपमा अघि बढाउनुपर्ने बताए।
समापनमा वरिष्ठ समाचार सम्पादक महेन्द्र सुबेदीले ७१ वर्षको सम्बन्धलाई व्यापार, लगानी, कनेक्टिभिटी, शिक्षा, संस्कृति, प्रविधि, पर्यटन र जनस्तरीय सम्पर्कसँग जोडेर परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताए।







