अस्पतालबाट डिस्चार्ज भए लगत्तै थपलियाविरुद्ध अविश्वास प्रस्ताव
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
थपलियालाई हटाएर किरण थापामगरलाई दलको नेता बनाउने तयारीअनुसार प्रस्ताव दर्ता गरिएको हो । यसअघि थपलिया बिरामी रहेका बेला प्रक्रिया अघि बढाइएको भन्दै एमालेभित्र राजनीतिक संस्कारबारे प्रश्न उठेको थियो ।
तर प्रस्ताव दर्तामा संलग्न प्रदेशसभा सदस्य किरण थापाले थपलिया अहिले अस्पतालबाट डिस्चार्ज भइसकेको र दलमा भएको सल्लाहअनुसार नै १८ जना दलका सदस्यहरुले हस्ताक्षर गरेपछि प्रक्रिया अघि बढाइएको निरन्तर न्यूजलाई बताए ।
‘उहाँ अस्पतालबाट डिस्चार्ज भइसक्नुभएको छ । दलमा भएको सल्लाहअनुसार प्रस्ताव दर्ता गरिएको हो,’ थापाले भने, ‘अबको प्रक्रिया सौहार्दपूर्ण रूपमा संसदीय दलको नियमानुसार अघि बढ्छ ।’
एमाले-नेकपाको सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने सहमति पश्चात मुख्यमन्त्री बन्ने होडले विषय पेचिलो बन्दै गएको हो ।
प्रस्तावमाथि संसदीय दलमा छलफल र सांसदहरूको समर्थनपछि थपलियाको नेतृत्वबारे निर्णय हुने बताइएको छ ।
बागमती प्रदेशसभामा हाल ११० सदस्यीय व्यवस्था रहे पनि सभामुखसहित ६ पद रिक्त हुँदा प्रभावकारी सदस्य संख्या १०४ रहेको छ। प्रदेशसभामा नेपाली कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ। नेपाली कम्युनिष्ट पार्टी २६ र नेकपा (एमाले) २५ सिटसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेशसभा सदस्य छन्। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन राप्रपाको भूमिका निर्णायक हुने देखिएको छ।







