सिँचाइलाई उच्च प्राथमिकता दिँदै उत्पादनमुखी बजेट : मन्त्री तामाङ

निरन्तर न्यूज
१२ श्रावण २०८३, मंगलवार १९:३५

हेटाैँडा ।  बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादनमुखी, परिणाममुखी र दीर्घकालीन उपलब्धि हासिल गर्ने लक्ष्यसहित ल्याइएको बताएका छन्।

मन्त्रालयका लागि रु. ६ अर्ब ६० करोड ६१ लाख बजेट विनियोजन गरिएको छ। यसमध्ये रु. ६ अर्ब २८ करोड पुँजीगत र रु. ३२ करोड ९ लाख चालुतर्फ छुट्याइएको छ।

चालु वर्ष २ हजार ७९२ आयोजना कार्यान्वयन गरिनेछ, जसमा खानेपानी, सिँचाइ, नदी व्यवस्थापन, ऊर्जा र सरसफाइका आयोजना समावेश छन्।

मन्त्री तामाङका अनुसार अधुरा र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकता दिइएको छ। ८० प्रतिशतभन्दा बढी प्रगति भएका आयोजना सम्पन्न गर्ने, नयाँ आयोजना थप्दा डीपीआर अनिवार्य गर्ने र साना तथा टुक्रे आयोजना घटाउने नीति अपनाइएको छ।

बहुवर्षीय आयोजनामा उल्लेख्य बजेट छुट्याइएको छ भने सिँचाइ, खानेपानी, भूमिगत सिँचाइ र ऊर्जा क्षेत्रका ११४ नयाँ बहुवर्षीय आयोजना सञ्चालन गरिनेछन्।

संघीय अनुदानबाट नुवाकोट, काभ्रे र अन्य जिल्लामा नदी नियन्त्रण, तटबन्ध तथा खानेपानी आयोजना सञ्चालन गरिनेछ। ऊर्जा क्षेत्रमा सरकारी भवन, नारायणी लिफ्ट र खगेरी नहरमा सौर्य ऊर्जा जडान तथा स्थानीय तहमा सोलार प्रणालीको पाइलट कार्यक्रम पनि अघि बढाइनेछ।

मन्त्री तामाङले बजेट छरिएर खर्च गर्नेभन्दा परिणाम दिने आयोजनामा केन्द्रित रहेको बताउँदै सिँचाइ, खानेपानी, ऊर्जा र नदी व्यवस्थापनलाई प्रदेश विकासको मुख्य आधार बनाइएको स्पष्ट पारे। उनले यसअघि ८६‍७७ प्रतिशतकाे आर्थिक प्रगतिलाई बढाएर ९५ प्रतिशत पुर्याउने मन्त्री तामाङले बताए। उनले ७६ प्रतिशत ठूला आयाेजना र २० प्रतिशत साना आयाेजना भएकाे कारणले अब  आर्थिक प्रगतिलाई बृद्धि गर्न सम्भव रहेकाे उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*