कुवेतमा इरानी आक्रमणबाट ज्यान गुमाएका तामाङको शव नेपाल ल्याइयो
काठमाडौँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका बिच कुवेतमा भएको इरानी मिसाइल आक्रमणमा परी ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको पार्थिव शरीर नेपाल ल्याइएको छ। कुवेत एयरवेजको नियमित उडानमार्फत गएराति उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ल्याइएको हो ।
सन् २०२२ देखि कुवेतमा चालक (ड्राइभर) का रूपमा कार्यरत तामाङको गत बिहीबार उत्तरी कुवेतस्थित एक चिनियाँ निर्माणाधीन कम्पनीको भवनमा भएको इरानी मिसाइल आक्रमणका क्रममा मृत्यु भएको थियो। पश्चिम एसियामा जारी पछिल्लो भीषण सैन्य द्वन्द्वका क्रममा ज्यान गुमाउने तामाङ दोस्रो नेपाली नागरिक हुन् ।
घटनालगत्तै कुवेतस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया र कागजी कामलाई द्रुत गतिमा अघि बढाउँदै शव स्वदेश पठाउने व्यवस्था मिलाएको थियो। शोक सन्तप्त परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्न दूतावासले प्रक्रियालाई तीव्रता दिएको जनाएको छ ।
विमानस्थलमा शव आइपुगेपछि आवश्यक प्रक्रिया पूरा गरी अन्तिम संस्कारका लागि तेह्रथुमस्थित उनको गृहनगर पठाउने तयारी गरिएको छ। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपालीको ज्यान गएपछि उनका आफन्त र सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।






