विराटनगरका उद्योगी मुन्दडाको घरमा प्रहरी छापाप्रति व्यावसायिक संगठनको आपत्ति

निरन्तर न्यूज
१९ श्रावण २०८३, मंगलवार १२:२६

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपको )मुन्दडा परिवार ग्रुप) घर तथा व्यावसायिक प्रतिष्ठानमा प्रहरीले गरेको छापाप्रति कोशी प्रदेशका चार व्यावसायिक संगठनले संयुक्त रूपमा आपत्ति जनाएका छन्।

संगठनहरूले अपुष्ट सूचनाका आधारमा साउन १८ गते गरिएको कारबाहीले उद्योगी–व्यवसायीमा त्रास सिर्जना गरेको भन्दै सरकारलाई सूचना संयन्त्र सुधार गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश), नेपाल उद्योग परिसंघ (कोशी प्रदेश), मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले बिहान ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी करिब पाँच घण्टासम्म छापा मारे पनि कुनै गैरकानुनी वस्तु वा प्रमाण फेला नपरेको प्रहरीकै विवरणले देखाएको उल्लेख गरेका छन्।

संगठनहरूले यस्तो अवस्थामा प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको बताएका छन्।

विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी–व्यवसायीलाई आतंकित पार्ने शैलीमा गरिएको कारबाहीले निजी क्षेत्रको मनोबल कमजोर बनाएको उल्लेख गर्दै कानुन कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा र व्यावसायिक निरन्तरतामा असर नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिइएको छ।

व्यावसायिक संगठनहरूले सरकारको नीति र व्यवहारबीच तालमेल नदेखिएको टिप्पणी गर्दै यस्ता घटनाले सरकार र निजी क्षेत्रबीच अविश्वास बढाउने तथा लगानी र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।

उनीहरूले छापा मार्नुअघि प्रयोग गरिने सूचना संयन्त्रको विश्वसनीयता र प्रामाणिकताको पुनरावलोकन गर्न, अपुष्ट सूचनाका आधारमा हुने कारबाहीबाट निर्दोष उद्योगीको सामाजिक तथा व्यावसायिक साखमा पुग्ने क्षतिको जिम्मेवारी राज्यले लिनुपर्ने तथा उद्योग–व्यवसाय क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता र आपसी विश्वासको वातावरणमा अघि बढाउने नीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन्।

संयुक्त विज्ञप्तिमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी तथा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले हस्ताक्षर गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*